नियम १२१
विशेष सजायको आदेश दिनु भन्दा पहिले सजाय प्रस्ताव गर्नु पर्ने
:  (१) विशेष सजायको आदेश दिनुभन्दा पहिले विभागीय सजायको आदेश दिन पाउने अधिकारीले नियम ११८ बमोजिम सफाई पेश गर्न दिएको म्याद भित्र सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीले सफाई पेश नगरेमा वा पेश हुन आएको सफाई सन्तोषजनक नभएमा त्यस्तो सशस्त्र प्रहरी कर्मचारीलाई दिन लागिएको प्रस्तावित सजाय किन नदिने भनी त्यस सम्बन्धमा उचित म्याद दिई स्पष्टीकरण माग गर्नु पर्नेछ ।
(२) विभागीय सजायको आदेश दिन पाउने अधिकारीले उपनियम (१) बमोजिम स्पष्टीकरण माग गर्दा नियम ११८ को उपनियम (१) बमोजिम पेश हुन आएको सफाई सन्तोषजनक नभएमा त्यसको कारण पनि खुलाउनु पर्नेछ । त्यस्तो सशस्त्र प्रहरी कर्मचारीको सम्बन्धमा नियम ११८ को उपनियम (२) बमोजिम जाँचबुझ गराईएको भए सोको नतिजा समेत उल्लेख गरी प्रस्तावित सजायको औचित्य समेत खुलाई स्पष्टीकरण माग गर्नु पर्नेछ ।